केन्याबाट उद्धार गरिएकी १२ युवतीहरु आफन्तको जिम्मामा

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौँ | अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । 

उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरु विभिन्न स्थानबाट बसमार्फत पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ । केन्याको मुम्बासा शहरस्थित रङ्गीला डान्समा काम गर्दै आएका उनीहरुलाई त्यहाँका प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो । उद्धार गरेर ल्याइएको युवतीलाई व्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो । केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरुलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!