फाईल किनबेच नगर्न म्यानपावरलाई विभागको चेतावनी

Posted on: 30 Jul, 2019

साउन १४, काठमाडौं।  वैदेशिक रोजगार विभागले अर्को कम्पनीको फाईलमा श्रम स्वीकृति नलिन वैदेशिक रोजगार व्यवसायीहरुलाई चेतावनी दिएको छ। विभागले सोमबार वैदेशिक रोजगार व्यवसायीहरुका नाममा सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

विभागले श्रम स्वीकृति निकाल्दा रोजगारदाताको नामबाट पेश गर्ने अख्तियारनामा (पावर अफ एटर्नी) पुरै तीन वर्षको हुनुपर्ने जनाएको छ । विभागले भनेको छ "कूनै एक ईजाजतपत्र प्राप्त संस्थाले राहदानी र रकम बुझ्ने र अर्को म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेर कामदार विदेश पठाउँदा कामदार ठगिएको, वैदेशिक रोजगारमा गएका कामदारले करारमा उल्लेखित तलव तथा सेवा सुविधा नपाउने र श्रम स्वीकृति निकाल्ने म्यानपावर कम्पनीहरु एक आपसमा दोषरोपण गरेर उम्कन खोज्ने र  पीडित कामदारलाई क्षतिपूर्ति दिन आलटाल गरी अनावश्यक दुःख र हैरानी दिने गरेको पाइएको छ ।"

त्यसैगरी विभागले केही म्यानपावर कम्पनीहरु आफैले कामदार पठाउनुको सट्टा एजेन्ट बनेर काम गर्ने गरेको, म्यानपावर कम्पनीबीच कामदारको मागपत्र खरीद विक्रि हुने गरेको, विभागको कारवाहीमा परेर कारोबार रोक्का रहेका म्यानपावर कम्पनीहरुले अर्को कम्पनीमा फाईल पठाएर कामदार वैदेशिक रोजगारीमा पठाउने जस्ता विकृतीका रुपमा रहेको औल्याएको छ । 

विभागले यी म्यानपावर कम्पनीका कमजोरी औल्याई चेतावनी दिदै भनेको छ, ‘आगामी दिनमा यस किसिमका कुनैपनि कार्य कुनै पनि संस्था वा व्यक्तिबाट भएमा हदैसम्मको कानूनी कारवाही हुने छ ।’ 

विभागलाई वैदेशिक रोजगार ऐन २०६४ विरुद्ध काम गरे व्यवसायीलाई पहिलो पटक सचेत गराउने, दोश्रो पटक सोही कसुर दोहर्‍याएमा ५० हजार जरीवाना गर्ने र तेश्रो पटक पनि सोही गल्ती दोहर्‍याएमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभए एक लाख रुपैयाँ जरीवाना गरेर व्यवसायीको ईजाजत्र पत्र रद्द गर्ने सम्मको अधिकार रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!