मलेसिया रोजगारी खुलाउन वार्ताका लागि नेपाली टोली मलेसिया प्रस्थान

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौँ | मलेसिया रोजगारी खुलाउनको लागि सहमति हुन बाँकि रहेका विषय टुंगो लगाउन नेपाली वार्ता टोली मलेसिया गएको छ। नेपाल र मलेसियाका प्राविधिक टोलीबीच भदौ २४ र २५ गते हुने छलफलका लागि एक टोली आज मलेसिया गएको हो । 

वार्ता टोलीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी रहेको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । दुई देशको प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झदारी अनुसार सहमति हुन बाँकि रहेका विषयलाई छलफलद्वारा टुंग्याउने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ ।

गत कात्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो। सो पश्च्यात बाँकी रहेका विषय मिलाउन दुई देशवीचको संयुक्त प्राविधिक टोली गठन गरिएको थियो । दुइ देशवीच यस पटक दोस्रो बैठक मलेसियामा हुन लागेको हो । यसअघि संयुक्त टोलीको बैठक काठमाडौंमा भएको थियो ।

श्रम समझदारी अनुसार मलेसियाले तयार गरेको स्वास्थ्य संस्थाको मापदण्डअनुसार छनोट भएका १ सय २२ संस्थाको नाम नेपालले मलेसिया पठाइसकेको छ । २०७५ जेठ २ गते अगाडिसम्म ३६ वटा स्वास्थ्य संस्थाले कामदारको मेडिकल गर्दै आएका थिए । तर ति सीमित संस्थाले सिन्डिकेट गरेको भन्दै श्रममन्त्री विष्टले मलेसिया रोजगारी नै बन्द गरेका थिए । 

पछिलो समय मलेसियाले हाल संचालनमा रहेका ३६ संथाबाट नै काम शुरु गर्ने र बाँकी सस्थाको वार्षिक कार्यतालिका अनुसार अनुगमन गरि संख्या थप गर्न सकिने भन्दै परराष्ट्र मन्त्रालय मार्फत श्रम मन्त्रालयलाई पत्र पठाइसकेको छ। तर मलेसियाको यस्तो पत्र अनुरुप सहमति गर्न नसकिने श्रम मन्त्रालय श्रोत बताउंछ। ३६ संस्थालाई नै हुनेगरी सहमति गर्न सकिंदैन श्रोतले भन्यो 'बरु  ३/४ महिनाको समय दिन सकिन्छ, सो बेलासम्म सबै स्वास्थ्य संस्था समेटिनुपर्छ।' 

श्रम समझदारी पश्च्यात मलेसियाको रोजगारी रोक्नुको कुनै कारण नभएको म्यानपावर व्यवसायीले बताउंदै आएका छन् । धरौटी राख्न लगाउने तर मलेसिया रोजगारी बन्द गर्ने भन्दै व्यवसायीले तत्काल खुलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गर्दै आएका छन् तर मलेसियाको रोजगारी खुल्न सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!