म्यानपावरका कुर्चीमा 'एजेन्ट' !

Posted on: 13 Sep, 2019

अनिल अधिकारी | भदौ २७, काठमाडौँ | बैदेशिक रोजगारीको बिकृतिका रुपमा हेरिएको 'एजेन्ट' व्यवस्थाले बैदेशिक रोजगारीमा जान चाहेका कयौं युवाहरुलाई समस्यामा पारेको निष्कर्ष निकाल्दै बैदेशिक रोजगार बिभागले 'एजेन्ट' व्यवस्था खारे गर्यो । तर पनि म्यानपावरहरुमा एजेन्टहरुको सक्रियता घटेको छैन । 

संशोधित वैदेशिक रोजगार ऐनमा एजेन्टको व्यवस्था हटाइएपछि एजेन्टले सम्पर्क कार्यालय स्थापना गरी म्यानपावर कम्पनीका लागि राहदानी संकलन र रकम उठाउन नपाउने नीति छ । संसोधित नीति बमोजिम एजेन्टहरुले राहदानी संकलन र रकम उठाएको भेटिए प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही गर्ने व्यवस्था ऐनमा छ । नीति अनुसार जुनसुकै जिल्ला अधिकारीहरुले एजेन्टलाई ५ लाख रुपैयाँ जरिवाना र ७ वर्षसम्म कैद सजाय गर्न सक्छन् । 

यस बिषयमा बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले एजेन्टहरु सबै गैरकानुनी भएको अवस्थामा म्यानपावरमा तथा बाहिर जहाँ एजेन्ट प्रामाणित हुन्छन्, उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार कारवाही हुन्छ । वैदेशिक रोजगारको नाममा रकम उठाउनेलाई कामदारसँग लिइएको रकम र सोको ५० प्रतिशतले हुने रकमको हर्जाना समेत तिराइन्छ । त्यसो त एजेन्ट मार्फत विदेश पठाइएको पाइएमा कामदारलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई सम्बन्धित एजेन्टलाई तीन देखि पाँच लाख रुपैयाँसम्म जरिवाना र ३ देखि सात वर्षसम्म कैद हुने व्यवस्था छ । 

माथीको तस्वीरमा: एजेन्टको सक्रियता झल्काउने एक दृष्य, पत्रिका/अनलाइनमा बिज्ञापन बिना सनिबारको दिन मलेसियाको अन्तर्वार्ता दिन गौशाला स्थित एक म्यानपावरमा पुगेका युवाहरु 

बैदेशिक रोजगार सम्बद्ध जानकारहरुले एजेन्टको कारणले बैदेशिक रोजगारीमा कामदारलाई लागत बढेको बताउंदै गर्दा कतिपय म्यानपावर संचालकहरुले समेत यो बिषय स्वीकार्दै आएका छन् । एउटा कामदारलाई विदेश पठाउन ४/५ जना सम्म एजेन्टको भर्याङ प्रयोग हुने र प्रत्यकले कामदारसँग अशुली गर्दा लागत बढ्ने गरेको पाइएको छ । त्यसो त राम्रो रोजगारमा पठाउँदा तलब अनुसार एजेन्टले आफ्नो रेट राखेर म्यानपावरसँग बार्गेनिङ गर्ने गरेको पाइएको छ । यही बिषयमा एक म्यानपावर संचालकले भने 'कामदारको राहदानी एजेन्टकै हातमा हुन्छ, उनीहरुको सहयोग लिँदा बैदेशिक रोजगारीमा जाने कामदार भेटिन्छन् नत्र कोटा पुरा गर्न मुस्किल हुन्छ ।' ति म्यानपावर संचालकले आफूहरुले नचाहेर पनि एजेन्टलाई घुसाउनु परेको खुलाशा गरे । 

झन्डै तीन महिना अघि बैदेशिक रोजगारीमा जाने चाहना सहित सुरज तामाङ, चतुरमान तामाङ सहित छ जना सामाखुसी स्थित एक म्यानपावरमा छिरे । म्यानपावरको एक टेवलमा सुवास थापा नाम गरेका एक व्यक्ति भेटिए । उनीहरु बीच बैदेशिक रोजगारीमा पठाउने बिषयमा कुरा भयो र दुबईको लागि ६ जना युवाहरुसँग धरौटी भन्दै २/२ लाख मागियो तर छ जना युवाहरुले जनही ५० हजारको दरले दिए । रकम दिँदा केहि रकम आईएमईबाट पनि पठाएको पाइएको छ । जब २/३ महिना बित्यो तब मात्र ति युवाहरुलाई थाहा भयो म्यानपावरको कुर्चीमा बसेर कारोवार गर्ने एजेन्ट रहेछन् । अहिले ति सुवास थापा भन्नेले पिडितहरुको फोन कल उठाउँदैनन् । 

यसरी केहि म्यानपावरले आफ्नो म्यानपावर मार्फत अवैध रुपमा कारोवार गरेको बुझ्न सकिन्छ । बैदेशिक रोजगारका क्रममा अधिकांश म्यानपावर कम्पनीले सिधै म्यानपावरमा आएका कामदारहरुलाई लिन चुनौतीपूर्ण मान्ने गरेको कारण पनि एजेन्टहरुको सक्रियता कायम छ । बैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले एजेन्ट मार्फत आएका कामदारलाई लागत खर्चमा कसिकसाउ गर्न सहज हुने भएपछि एजेन्ट मार्फत नै कारोवार गर्न सहज मान्ने गरेको पाइएको छ । त्यसो त म्यानपावर कम्पनीहरुले एजेन्टहरु मार्फत म्यानपावरमा आएका कामदारहरुलाई बढी प्राथमिकता दिने गरेको पनि पाइएको छ । 

सरकारले एजेन्टको व्यवस्था खारेज गरिसकेको अवस्थामा अधिकांश म्यानपावर कम्पनीहरुले एजेन्टकै सहयोग लिईरहेको बैदेशिक रोजगारीमा जाने कामदारहरुले गुनासो गर्दै आएका छन् । केहि म्यानपावरले एजेन्टहरुलाई ५ लाख धरौटी राख्न लगाएर कार्यालयको कर्मचारी तथा कार्यालयको कोठा समेत दिएर परिचालन गरेको पाइएको छ । 

डिमाण्ड खोज्दै म्यानपावर धाउनेलाई भन्दा एजेन्टको पछी लागेर आउनेहरुलाई म्यानपावरहरुले प्राथमिकता दिने गरेका छन् । यसरी सरकारले खारेज गरिसकेको एजेन्ट सम्बन्धि व्यवस्थाको खिल्ली उडाउने काम भएको बैदेशिक रोजगार सम्बंद्द अधिकारीहरुको टिप्पणी छ । यस्तो अवस्थामा बैदेशिक रोजगार बिभागले नियमित अनुगमन तथा बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सचेतना दिनु आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । यसै बिषयमा बैदेशिक रोजगार बिभागका महा निर्देशक डा. भिष्म कुमार भुषालले बिभागलाई अप्रत्यक्ष रुपमा एजेन्टहरुको बाक्लो चलखेल भएको बिषयमा जानकारी भएको बताएका छन् । उनले भने 'पिडितहरुले दिने उजुरीको आधारमा एजेन्टहरुलाई कारवाही हुन्छ । यदी म्यानपावरकै हातामा एजेन्ट भेटिन्छन् र एजेन्ट र म्यानपावर बीच मिलिमतो देखियो भने म्यानपावर समेत बिभागको कारवाहीको दायरामा आउनु पर्छ ।' 

माथिको तश्विरमा: विदेश जाने कामदारसँग चर्को अशुली गरेपछि बिभागले कारवाही गर्ने क्रममा । तश्वीर: परासर पौडेल | साझा सबाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!