जापान जानलाई गोलाप्रथा जित्नुपर्ने ! फारम भर्ने म्याद अब ३ दिन बाँकी

Posted on: 30 Sep, 2019

असोज १३, काठमाडौँ | स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जानको लागि नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ ।

नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो । यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि गर्ने बताएको थियो । तर, जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने भएको हो ।

जापान सरकारले एसएसडब्लु अन्तर्गतको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ । भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट गर्ने जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

फाउन्डेसनले यसअघि नै अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने जनाएको छ । त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण हुनेछ ।

भाषा परीक्षामा सहभागी हुनको लागि सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्ममा फर्म भर्नुपर्छ । उक्त फर्मका आधारमा गोलाप्रथाबाट छानिएका हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउनेछन् । गोलाप्रथाबाट छनोट भएकाहरुलाई फाउन्डेसनले इमेल पठाउने छ ।

फाउन्डेसनले भाषा परिक्षा उत्रिण गर्नको लागि यस अघि नै ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नुपर्ने बतायएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!