७ दिनभित्र विवरण पठाउन म्यानपावरहरुलाई विभागको निर्देशन, नपठाए कारोवार रोक्का हुने

Posted on: 22 Oct, 2019

कार्त्तिक ५, काठमाडौं । वैदेशिक रोजगार विभागले आवश्यक जानकारी उपलब्ध गराउन ८ सय ५४ वटै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । गत भदौ १८ गते अगाडि एक आपसमा गाभिएका र तोकिएको धरौटी र बैंक ग्यारेन्टी राखी सञ्चालनमा रहेका म्यानपावर कम्पनीहरुलाई सात दिनभित्र आफ्नो संस्थासँग सम्बन्धित सबै जानकारी सहित सञ्चालक र कर्मचारीहरुको विवरण अध्यावधिक गर्न विभागले निर्देशन दिएको हो । 

विभागले एक सूचना जारी गर्दै सात दिनभित्र विवरण नबुझाउने म्यानपावर कम्पनीहरुको कारोवार रोक्का राखिने चेतावनी समेत दिएको छ । विभागले म्यानपावर कम्पनी अंग्रेजी र नेपाली भाषामा संस्थाको नाम र लाइसेन्स नम्बर, संस्थाको ठेगाना, ल्याण्डलाईन नम्बर र मोबाइल नम्बर, इमेल ठेगाना, सञ्चालकको संख्या र गाभिएका म्यानपावर कम्पनीहरुको विवरण पेश गर्न भनेको छ ।

त्यसैगरी विभागले सञ्चालकको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, कम्पनीमा रहेको शेयरको हिस्सा, सञ्चालक भएको मिति, मोबाईल तथा ल्याण्डलाईन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ । विभागले कर्मचारीहरुको हकमा पनि नाम थरका साथसाथै स्थायी तथा अस्थायी ठेगाना, पद, नियुक्ति मिति सहित मोबाईल तथा ल्याण्डलाईन नम्बर सहितको विवरण पेश गर्न भनेको छ । विभागले उल्लेख गरे अनुसारको विवरण तयार पारेपछि विभागको इमेलमा विद्युतीय प्रति पेश गर्नुपर्ने जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!