साउदीमा नेपाली कामदार अलपत्र, ६ महिनासम्म तलब सुविधा बिना नै बस्न बाध्य

Posted on: 26 Nov, 2019

मनोज पराजुली, मंसिर १०, काठमाडौं ।  बैदेशिक रोजगारीको लागि साउदी पुगेका एक युवाले अलपत्र परेको भन्दै छिटो भन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका छन् । साउदीको अर्कड इन्जिनिएरिंङ्ग एण्ड कन्स्ट्रक्सन कम्पनीबाट पाउनु पर्ने सम्पुर्ण तलब सुविधा दिलाई नेपाल फर्काइ दिन सिन्धुपाल्चोक जिल्ला जुगल गाउॅपालिका २ नाम्फा स्थायी घर भएका विवेक विश्‍वकर्माले आग्रह गरेका हुन् ।

बैदेशिक रोजगारीको लागि साउदी पुगेका युवाहरु काम र तलब बिना नै ६ महिनासम्म बस्न बाध्य भएको विश्‍वकर्माले साझा सबाललाई जानकारी दिए । उनी केएसए इन्टर्नेशनल ग्रुप मार्फत साउदी गएका थिए । विगत २३ महिना देखि साउदीको अरबको यस कन्स्ट्रक्सन कम्पनीमा कार्यरत छौं उनले भने' छ महिना देखि तलब दिएको छैन, २३ महिना हुँदा पनि एउटा पनि अकामा नदिएको र पुरानो मान्छेको नविकरण गराएको छैन ।'

२१ महिनामै घर पठाउन भनेर बिना तलब तयारी अवस्थामा राखेको तर आजसम्म पनि नेपाल फर्किन नपाएको उनले बताए । उक्त कम्पनीमा कार्यरत अन्य नेपालीहरुलाई करार अवधि सकिंदा पनि बिना तलब बिना सेवा सुविधा ४ देखी ९ महिनासम्म राखेको विश्‍वकर्माले बताए ।  उपयुक्त खाना दिएको छैन उनले भने 'अहिले पशुले खाने झै प्लास्टिकमा दिएको छ, फोहोर नउठाएको कारण दुर्गन्ध फैलिएको छ ।'

पछिल्लो समय कम्पनीको स्थिति बारेमा एजेन्ट र म्यानपावर कम्पनीलाई पनि जानकारी गराएको उनले बताएका छन् । साउदी पठाउन १ लाख ५ हजार रुपैंया लिएका एजेन्ट प्रेम गिरीलाई जानकारी गराउॅदा कम्पनीलाई नै भन्‍नु मलाई थाहा छैन भनेको छ, उनले भने 'मलाई यहॉबाट निकाल्नुस र मैले बुझाएको पैसा फिर्ता गरिदिनुस् भन्दा गाली गौलज गरि कहॉ जानछस जा कसलाई उजुरी गर्छस गर भन्दै धम्काउने गरेको उनले बताए । 

यस समस्या बारे जानकारी प्राप्त भएको र समाधानको प्रयास भईरहेको म्यानपावर संचालक नवराज बस्नेतले बताए । साउदीको उक्त्र कम्पनीमा समस्या भएको बारे विवेक विश्‍वकर्मा १५/२० दिन अगाडी जानकारी गराएका छन् बस्नेतले भने 'कम्पनी घाटामा गएर साउदी सरकारबाट कालोसूचीमा परेको छ, जसका कारण आइडी  नै ब्लक भएको छ ।' साउदीको उक्त कम्पनीमा नेपालका ४ म्यानपावर कम्पनीले कामदार पठाएका सय भन्दा धेरै कामदार रहेको भन्दै उनले कम्पनीको बारेमा साउदी दुतावासमा जानकारी गराई सकिएको तर समस्या समाधान नभएको उनले बताए । रोजगारदाता कम्पनीले आगामी डिसेम्बर अन्तिमसम्ममा समाधान गरिसक्ने प्रतिवद्धता जनाएकोले सो समयसम्म पीडितहरुलाई नेपाल फिर्ता गरिसक्ने उनले दावी गरेका छन्  । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!