यूएईमा बस दुर्घटना: ३ नेपालीको मृत्यु, १४ घाइते (नामावली सहित)

Posted on: 17 Jan, 2020

माघ ३, यूएई । यूएईको आबुधाबीमा भएको विहिबार भएको बस दुर्घटनामा परि तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।


यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका बताइएको छ ।

काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) को माफ्राक अस्पतालमा उपचार भइरहेको छ ।  त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किएकी छिन्  ।

त्यस्तै, मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्माको अलरहा अस्पतालमा उपचार भइरहेको छ । घाइते १२ जनाको अवस्था सामान्य रहेपनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।

बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको थियो । राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका स्थानीय कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । 


अस्पतालमा ट्रमा सेण्टरका चिकित्सक तथा कम्पनीका प्रतिनिधिसँग भेटेर राजदूत ढकालले घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!