कतारले गर्यो कानूनी सुधार, अबदेखि यी क्षेत्रमा काम गर्नेहरुलाई एक्जिट पर्मिट नचाहिने

Posted on: 17 Jan, 2020

माघ ३, दोहा । कतारको श्रम कानून भित्र नपर्ने कामदारलाई पनि कतार छोड्न खुरुज पत्र ( एग्जिट पर्मिट ) नचाहिने भएको छ । 

कतारले अल्पकालिन वा पूर्णरुपमा कतार छोड्न चाहने विदेशी श्रमिकलाई खुरुज (एक्जिट पर्मिट) नचाहिने क्षेत्र थप गरेको हो । यसमा घरेलु काम गर्नेहरु समेटिएका छन् । कतारले यसअघि नै श्रम कानूनले समेट्ने क्षेत्रमा कार्यरतहरुलाई एक्जिट पर्मिट आवश्यक नपर्ने निर्णय गरिसकेको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार अवदेखि कतारमा कार्यरत कुनै घरेलु कामदार स्वदेश फर्किन चाहेमा अव त्यो सहज भएको छ । आफ्नो सम्झौता अवधिभित्रै स्वदेश फर्किन चाहने त्यस्तो घरेलु श्रमिकले स्वदेश फर्किन चाहेमा ७२ घण्टा (तीन दिन) अगाडी आफ्नो रोजगारदातालाई जानकारी दिनुपर्नेछ । पूर्व जानकारी नदिएकाहरुले भनें बाँकी रकम, फर्किने टिकटको सुविधा पाउने छैनन् भनें उनीहरुलाई पुनः कतार आउन ४ बर्षे बन्देज लाग्नेछ ।

यसैगरी नीजि क्षेत्रमा काम गर्नेहरु, कृषि क्षेत्रमा काम गर्नेहरु, कतारको समुद्री क्षेत्रमा काम गर्नेहरु, ग्यास तथा यससँग सम्वन्धित क्षेत्रमा काम गर्नेहरु र कतारको मन्त्रालय, सार्वजनिक संस्थाहरुमा काम गर्नेहरुलाई पनि कतार छोडेर स्वदेश फर्किन एक्जिट पर्मिट नचाहिने व्यवस्था यसअघि नै भइसकेको छ ।

कुनै रोजगारदाताले आफूसँग कार्यरत कुनै कामदार स्वदेश फर्किदा आफ्नो अनुमति चाहिने भएमा त्यसको अग्रिम जानकारी सरकारी निकायलाई गराउनु पर्ने व्यवस्था छ । तर यसरी रोजगारदाताले स्वदेश फर्किन चाहने श्रमिकले अनिवार्य रुपमा आफ्नो अनुमति लिनु पर्ने व्यवस्था कुल श्रमिक मध्ये ५ प्रतिशत भन्दा बढीलाई राख्न पाउने छैन ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!