वैदेशिक रोजगार सम्बन्धी उजुरीलाई मेलमिलापकर्ता मार्फत टुंग्याउन सकिने

Posted on: 28 Jan, 2020

माघ १४, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलगायतको उपस्थितिमा सोमबार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले सूचीकृत मेलमिलापकर्तालाई शपथ खुवाएका हुन् ।


विभागले गत पुस १५ गते एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीसम्बन्धी उजुरीमा मेलमिलापकर्ताका रूपमा काम गर्न चाहने तालीमप्राप्त व्यक्तिलाई सूचीकृत हुन आह्वान गरेको थियो । मेलमिलापकर्ताका रूपमा काम गर्न इच्छुक रहेको भन्दै ५३ जना सूचीकृत भएका थिए ।

मेलमिलापसम्बन्धी ऐन, २०६८ तथा नियमावली, २०७० ले यस सम्बन्धी व्यवस्था गरेको छ । यससँगै विभागले वैदेशिक रोजगारीसम्बन्धी उजुरी फरफारकमा तेस्रो निष्पक्ष व्यक्तिको सहयोग लिने बाटो खुलेको छ । कार्यक्रममा मेलमिलाप परिषद्का अध्यक्ष समेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश खतिवडाले मेलमिलापकर्ताले दिने न्याय पीडित र पीडक दुवैलाई न्याय हुने खालको हुनुपर्नेमा जोड दिए । नायब महान्यायाधिवक्ता पाण्डेले मेलमिलाप प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा महानिर्देशक भुसालले पुराना मुद्दा फछर्याेट गर्न विभागको ध्यान केन्द्रित भएको उल्लेख गर्दै मेलमिलापकर्ताको संलग्नतापछि मुद्दा फछर्याेटको दर बढ्ने विश्वास व्यक्त गरे । यसैबीच आजदेखि विभागमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । सो कक्षको सर्वोच्चका न्यायाधीश खतिवडाले उद्घाटन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!