वैदेशिक रोजगारको लागि कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

Posted on: 29 Feb, 2020

फागुन १७, सुर्खेत | कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो । 

कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ । पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी श्यामकृष्ण आचार्यका अनुसार कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर साउदी अरेबिया, कतार, मलेसिया र युएईमा बढी जाने गरेको पाइएको छ ।

यसैबीच, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट न्यून मात्रामा रोजगारदाता कम्पनीमा दर्ता भएका छन् । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको दुई वर्ष बित्न लाग्दा १२१ रोजगारदाता कम्पनी दर्ता भएका हुन् । 

कोषमा योगदान गर्ने श्रमिकको संख्या भने १७२ रहेको छ । सरकारले दुई वर्ष अघि श्रमिकलाई अवकाश हुँदा पेन्सन, उपदान र उपचार सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषको स्थापना गरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!