वैदेशिक रोजगारी : विश्वका ८७ देशका लागि ४९ हजारले लिए श्रम स्वीकृति, तर रोकिए नेपालमै !

Posted on: 17 Mar, 2020

मनोज पराजुली । चैत्र ४, काठमाडौं । वैदेशिक रोजगारीको लागि फागुन महिनामा मात्रै ४९ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । संस्थागत रुपमा म्यानपावर कम्पनी, व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति, पुन: श्रम स्वीकृति (रिईन्ट्री) र वैधानिकरण मार्फत ४९ हजार ४ सय ५० जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको फागुन महिनाको मासिक रिपोर्ट अनुसार म्यानपावर कम्पनी मार्फत २६ हजार ३०९ जना, व्यक्तिगत नयाँ श्रम स्वीकृति १४ सय ९ जना, रिईन्ट्री २० हजार ७३४ जना, र ९ सय ५० जनाले वैधानीकरण गरि श्रम स्वीकृति लिएका हुन् । 

हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये गत महिना ७ सय ४३ म्यानपावर कम्पनीले मात्रै श्रमिकको श्रम स्वीकृति लिएका छन् । माघ महिनामा ७ सय ५४ र पुस महिनामा ७ सय ६८ म्यानपावर कम्पनीले मात्र श्रम स्वीकृति निकालेर श्रमिक विदेश पठाएका थिए । 

माघ महिनामा संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि विदेशिएका थिए । माघ महिनामा संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत २५ हजार १७१ जना विदेश गएका थिए । व्यक्तिगत रिईन्ट्री  मार्फत २५ हजार २५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १२ सय ३४ जना विदेश गएका थिए । चालु आर्थिक वर्षको ८ महिनामा रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३ लाख ५१ हजार १३७  पुगेको छ ।

युएई एक नम्बरमा 

फागुन महिनामा सबैभन्दा धेरै युएई जानको लागि श्रम स्वीकृति लिएका छन् । गत महिना युएईको लागि १२ हजार १०६ जनाले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा सबै भन्दा धरै ११ हजार ११० जनाले श्रम स्वीकृति लिएर श्रमिक साउदी गएका थिए । 

गत महिनामा साउदीको लागि ११ हजार २१५, मलेसियाको लागी १० हजार ९१५ जना, कतारको लागि ८ हजार ४१३ र कुवेतको लागि २ हजार २९२ जनाले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा साउदी पछि युएई १० हजार ८९, कतार १० हजार ७६४, २ हजार २९८ जना कुवेत गएका थिए ।

फागुन महिनामा विश्वका ८७ देशमा नेपालीहरु रोजगारीका लागि जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर माघ महिनामा ८२ देश र पुस महिनामा ८४ मुलुकमा नेपाली कामदार पुगेका थिए । 

दि रिभर ओभरसिज एक नम्बरमा 

माघ महिनामा पनि दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले गत महिना ६ सय ४५ जनालाई विदेश पठाएको छ । रिभरले माघ महिनामा ५ सय २० र पुस महिनामा ५ सय ९३ जना विदेश पठाएर पहिलो स्थानमा नै रहेको थियो । 

दोश्रो नम्बरमा रहेको ट्रस्ट नेपाल ओभरसिजले ६ सय ४४ जनाको श्रम स्वीकृति निकालेको छ । माघ महिनामा एसओएस म्यानपावर सर्भिसले ३ सय ६८ जना विदेश पठाएर सूचीको दोश्रो नम्बरमा परेको थियो । प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ५ सय १७ जनाको श्रम स्वीकृति लिएको छ । गत महिनामा पनि प्याराडाइज तेश्रो नम्बरमा परेको थियो । 

चौंथोमा लक्की एच आर सोलुशनले ४ सय ८१, कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले ४ सय ३६ जनाको श्रम स्वीकृति लिएका निकालेका छन् । माघ महिनामा साउण्डलाइन्स रिक्रुईटमेन्टले ३०८ र कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले २८१ जना विदेश पठाएर क्रमश चौंथो र पाँचौंमा नम्बरमा परेका थिए ।

विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये माघ महिनामा ७ सय ५४ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । पुस महिनामा ७ सय ६८ म्यानपावरले श्रम स्वीकृति निकालेका थिए । 

अदक्ष कामदार बढी 

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २७ हजार १ सय ५१ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १७ हजार १७, अर्धसिप भएका ५ हजार २२२, व्यवसायिक सिप भएका ५६ जना र विशिष्ट सिप भएका ४ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

टिकट लिएका कामदार पनि रोकिए : व्यवसायी 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले फागुन २९ गतेबाट लागू हुनेगरी अनिश्चितकालसम्मका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै  रोजगारदाता गन्तव्य मुलुकले धमाधम विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएसंगै श्रम स्वीकृति लिएर टिकट लिएका नेपाली श्रमिक नेपालमै रोकिएका छन् । हालसम्म कुवेत, कतार,ओमानले विदेशी नागरिकलाई आफ्ना देश प्रवेशमा रोक लगाइसकेका छन् । त्यस्तै मलेसियाले मार्च १८ अर्थात् चैत्र  ५ गतेबाट १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

श्रम स्वीकृति लिएर टिकट काटिसकेका नेपालीहरु वैदेशिक रोजगारीमा जान वन्चित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । श्रम स्वीकृति पश्च्यात टिकट लिएका ४५ सयको हाराहारीमा श्रमिकहरु नेपालमै रोकिएका संघका अध्यक्ष विष्णु गैरेले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!