साउदीमा कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू, कर्फ्युको पालना गर्न दुतावासको अनुरोध

Posted on: 23 Mar, 2020

चैत्र १०, रियाद । साउदी अरबमा मार्च २३, २०२० आज राती ७ बजे देखि लागू हुनेगरी आगामी २१ दिन सम्म साँझ ७ बजे देखि बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी हुने भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइने यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहनु भएका नेपालीहरुमा साउदीस्थित नेपाली राजदूतावास अनुरोध गरेको छ ।

साउदीमा मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५११ जनामा फैलिसकेको छ । सोमबारसम्म  नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको नदेखिएको दुतावासले जनाएको छ । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउनुहुन दुतावासले अनुरोध गरेको छ  ।

कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग  पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउने साथै राजदूतावासको निरन्तर सम्पर्कमा रहनुहुन दुतावासले अनुरोध गरेको छ  ।

कोरोना संक्रमणको यो कठीन परिस्थितिमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा रोगको संक्रमण रोक्न सम्बन्धी स्वास्थ्य सावधानी र साउदी सरकारको  नियम कानुन र निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न आफ्नो तर्फबाट सदाझैँ मद्दत गरिदिनहुन साउदी अरबमा कृयाशिल गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था तथा अनलाइन समाचार माध्यमहरुलाई नेपाली राजदूतावासले अनुरोध गरेको छ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!