सन् २०२० मा खाडी क्षेत्रमा सवैभन्दा बढी प्रतिशत रोजगारी गुम्दै: आईएलओ

Posted on: 08 Apr, 2020

चैत्र २६, काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सन् २०२० को अप्रिल देखि जुनसम्ममा खाडी क्षेत्रका मुलुकहरुमा सवैभन्दा धेरै प्रतिशत रोजगारी गुम्ने अवस्था रहेको जनाएको छ । मंगलवार नयाँ रिपोर्ट सार्वजनिक गर्दै आईएलओले सवैभन्दा धेरै रोजगारी खाडी क्षेत्रमा गुम्ने अवस्था रहेको जनाएको हो । 

रिपोर्ट अनुसार खाडी क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने छ । यसपछि युरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख पूर्ण समय काम गर्ने श्रमिक बरावर र एशिया तथा प्यासेफीक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने अवस्था रहेको छ ।

रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भएपनि संख्याका हिसावले भने एसिया तथा प्यासेफीक क्षेत्र अगाडी देखिएको छ । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रुपमा यसअगाडीको तुलनामा ६ दशमलव ७ प्रतिशत कार्यसमय बरावरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको १ अर्व ९५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावर हुने आईएलओको निश्कर्ष छ ।

रोजगारीमा हुने कटौतीले सन् २००८/२००९ को आर्थिक मन्दि भन्दा बढी असर पार्ने आईएलओको अनुमान छ । रोजगारी कटौतीले मध्यम आय भएका मुलुकहरुलाई बढी असर गर्ने देखिएको छ । रिपोर्ट अनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योग लगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ । हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आँशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्ति मध्ये ३ दशमलव ३ अर्व हो । 

यसअघि आइएलओले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वभर २५ करोड कामदारले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो । कोरोना भाइरसले कार्यस्थलमा पार्ने प्रभाववारे गरिएको प्रारम्भिक अध्ययन अनुसार कार्यस्थलमा कामदारहरुको सुरक्षा, रोजगारी सिर्जना गर्ने गरि अर्थव्यवस्थाको परिचालन गर्ने, कामदारको रोजगारी र आयलाई सहयोग पुर्याउने नीति अख्तियार गरेमा बेरोजगारी समस्या न्यून गर्न सकिने आइएलओको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!