विदेशमा रहेका २ प्रतिशत नेपालीको रोजगारी गुम्यो, ८६ प्रतिशतले पुरा तलव पाउँदै

Posted on: 27 May, 2020

जेठ १४, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरु मध्ये २ दशमलव ४६ प्रतिशत श्रमिकहरु मात्र कोभिड १९ का कारण पुर्णरुपमा कामविहिन भएको एक अध्ययनले देखाएको छ । अन्य श्रमिकहरुलाई रोजगारदाताले काममा लगाएको वा कोरोना संक्रमण भएको कारण क्याम्प क्वारेन्टीनमा राखेको देखिएको हो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कोभिड १९ का कारण श्रमिकहरुमा परेको समस्याको सम्वन्धमा गरेको द्रुत सर्भेक्षणले यस्तो देखाएको हो । जिफन्टले विभिन्न मुलुकमा कृयाशिल जिफन्ट सहयोग समुहलाई परिचालन गरेर प्रवासी श्रमिकहरुका बीच गरेको द्रुत अध्ययनमा मलेसिया, कतार, साउदी अरेविया, कुवेत, वहराईनमा कार्यरत १९ हजार ५ सय ७१ जना नेपाली श्रमिक सहभागि थिए ।


द्रुत सर्वेक्षणमा सहभागि रहेका तथा रोजगार सम्झौता अवधि वाँकि रहेका मध्ये २ दशमलव ९३ प्रतिशतले पारिश्रमिक नपाएको देखिएको छ । वाँकि श्रमिक मध्ये १० दशमलव ९८ प्रतिशत श्रमिकले आंशिक मात्र पारिश्रमिक पाएको र ८६ प्रतिशतले पुरै पारिश्रमिक पाई रहेको देखिएको छ । तर ओभरटाईम काम नभएका कारण श्रमिकको आम्दानी घटेको जिफन्टको भनाई छ ।

कोभिड १९ को महामारी फैलिएपछि रोजगारी गुमाएर स्वदेश फर्किने श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानिय तहको रोजगारीमा वा स्वरोजगार हुन चाहनेलाई आवश्यक सहयोगको व्यवस्था मिलाई नेपाल भित्र रोजगारीको अवसर सिर्जना गर्न जिफन्टले माग गरेको छ ।

वैदेशिक रोजगारमा रहेका र करार अवधि सकिएका, कागजात नभएको अवस्थामा रही आम माफि प्राप्त गरेका र पारिश्रमिक नपाउने श्रमिकलाई तत्काल फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । यस पछि फर्कन चाहने श्रमिकलाई आउने व्यवस्था मिलाउन आग्रह गरेको छ । विदेशी भूमिमा विरामी परेका सवै श्रमिकलाई दुतावास मार्फत आवश्यक संरक्षणको व्यवस्था तत्काल गर्न पनि जिफन्टले माग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!