मलेसियाको प्रहरी हिरासतमा नै एक नेपालीको मृत्यु

Posted on: 07 Jun, 2020

जेठ २५, काठमाडौं । प्रहरी हिरासतमा नै मलेसियामा एक नेपालीको गत मे ३१ तारिखको दिन मृत्यु भएको छ । धन बहादुर नामका ति नेपालीको जिनजाङ्गमा प्रहरी हिरासतमा मृत्यु भएको र उनको मुत्युको विषयमा कानूनी उपचार खोज्न सघाउने भन्दै स्थानीय एक संस्थाले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको समाचार देशपरदेश अनलाइनले लेखेको छ ।

ईडीआइसीटी नामको सो गैरसरकारी संस्थाका अध्यक्ष एम विश्वनाथनले मलेसियाका लागि नेपाली राजदूत यदयराज पाण्डेलाई पत्र पठाउँदै धन बहादुरको परिवारको तर्फबाट मुद्दा लड्न तयार भएको जानकारी दिएका छन् । सो संस्थाले प्रहरी हिरासतमा हुने मृत्युको विषयमा पीडितलाई न्याय दिलाउन कानूनी सहयोग उपलव्ध गराउँदै आएको छ ।

पत्रमा मुद्दा लड्नका लागि मृतक धनबहादुरको परिवारसँग सम्पर्क गराईदिन तथा आवश्यक कागजात उपलव्ध गराइदिन आग्रह गरिएको छ ।

मलेसियामा आप्रवासी कामदारको अधिकारका पक्षमा कार्यरत संस्था नर्थ साउथ ईनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले प्रहरी हिरासतमा मृत्यु हुनेहरुमा आप्रवासी कामदारको संख्या बढी हुने गरेको र यसका विषयमा गम्भीरतापूर्वक छानविन गरिनुपर्ने बताए । मलेसियामा सन् २०१७ मा २४ जना, सन् २०१८ मा ३२ जना तथा सन् २०१९ मा ३७ जनाको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!