कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाउने

Posted on: 30 Jun, 2020
योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने विपत्ति व्यवस्थापन समितिले जनाएको छ । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।  
प्रतिवन्ध हटाउन जुलाई १ देखि दोश्रो चरण लागू हुने समितिले जनाएको छ भने कतारले चार चरणमा कोरोनाको प्रतिवन्ध हटाउने तयारी गरेको जनाएको छ । जुलाई १ देखि ५ जना सम्म भेला हुन दिने,सिमित समयका लागि मलहरु खुल्न दिइने, मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने, यस विषयमा उद्योग तथा बाणिज्य मन्त्रालयले सूचना जारी गर्ने, संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने, आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने जनाएको छ ।
 नीजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने समितिले जनाएको छ । त्यसै गरि अगस्ट १ देखि तेस्रो चरण लागू हुने छ भने प्राथमिकतामा रहेका आप्रवासी कामदारहरु कतार आउन पाउने र फर्किएहरुले  व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।
कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात्  सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!