Breaking News : वैदेशिक रोजगारीको लागि पुन: श्रम स्वीकृति खुल्यो

Posted on: 02 Jul, 2020

मनोज पराजुली । असार १८, काठमाडौं । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभाग अन्तर्गत  काठमाडौं कार्यालय  ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिए ।

आजबाट पुन श्रम स्वीकृति खुला गरिएको छ बस्नेतले भने 'श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन श्रम स्वीकृति दिनेछौं ।  वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुन श्रम स्वीकृति प्रदान गरिने उनले बताए । नयाँ श्रम स्वीकृति भने अहिले नपाइने उनले बताए  ।

काठमाडौं कार्यालयबाट आज नै श्रम स्वीकृति दिन शुरु गरिने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले साझा सबाललाई जानकारी दिए । अन्य  प्रदेशमा रहेका श्रम कार्यालयहरुबाट आइतबारबाट मात्र पुन श्रम स्विकृति दिन शुरु गरिने उनले बताए ।

काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइ सकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलाएको थियो ।

सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय गरिएको थियो । 

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ । 

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द 

श्रम कार्यालयहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरेपनि ततकाल उनीहरु नियमित हवाई उडानबाट विदेश जान पाउने छैनन् । असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ । साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन । 

नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!