साउदीमा रहेका अवैधानिक २०४ नेपालीले पाए वहिर्गमन भिसा

Posted on: 03 Jul, 2020

योगेन्द्र योगी | असार १९, दोहा | साउदीमा २०४ अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये २०४ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका  थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

वहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको समेत दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनीपछि साउदी सरकारले थप ६९ जना नेपालीहरुलाई वहिर्गमन भिसा जारी गरेको छ । यसअघि नै १३५ जनाले भिसा प्राप्त गरिसकेका थिए ।

यसरीवहिर्गमन भिसा प्राप्त गरेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने हुन्छ । भिसा प्राप्त गरेकाहरूलाई आगामी हफ्ता रियाद तथा दम्मामबाट उडानहरु हुने भएकाले यी उडानबाट स्वदेश फर्कने तयारी गर्नसमेत दूतावासले भनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!