श्रममन्त्रीद्वारा वैदेशिक रोजगार वोर्डमा व्यवसायीहरु हेम गुरुङ र कैलाश खड्का मनोनित

Posted on: 06 Jul, 2020

असार २१, काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले २ व्यवसायीलाई वैदेशिक रोजगार वोर्डमा मनोनित गरेका छन् ।  वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेम गुरुङ तथा स्वास्थ्य व्यवसायी एवं नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई वोर्डको सदस्यमा मन्त्री यादवले मनोनित गरेका हुन् । 


वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ अनुसार व्यवसायी गुरुङ र खड्कालाई वोर्ड सदस्यमा मनोनयन भएका  हुन् । मनोनित दुई सदस्यहरुको कार्यकाल निर्णय भएको मितिले दुई वर्ष हुने उल्लेख छ । मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुकातर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञकारुपमा मनोनित गरेको हो । 

वैदेशिक रोजगार वोर्डले श्रमिकबाट कल्याणकारी शुल्क उठाएर उनीहरुको हितका लागि काम गर्नुपर्ने दायित्व रहेको छ । मन्त्री वा राज्यमन्त्रीको अध्यक्षता रहने यस बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् ।

वोर्डमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे तथा कोषाध्यक्ष इन्दिरा गुरुङलगायत सदस्य रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!