म्यानपावर व्यवसायीले मंगलबारबाट चरणवद्ध आन्दोलन गर्ने

Posted on: 06 Jul, 2020

असार २२, काठमाडौँ । म्यानपावर व्यवसायीका समस्या समाधान नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चरणवद्ध आन्दोलन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम समयमा आइपुग्दा ५ सय ३१ म्यानपावर नवीकरण नहुने अवस्था आएकोले मंगलबारबाट (भोलि) चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले साझा सबाललाई बताए ।

सरकारले बि. स. २०७५ फागुन १९ गते वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गरि म्यानपावर कम्पनी नवीकरण गर्नको लागि पछिल्ला २ आर्थिक वर्षमा सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार नवीकरण गर्नका लागि संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनी मध्ये ५ सय ३१ म्यानपावरले सय जना कामदार विदेश पठाउन नसकेको श्रेष्ठले बताए । 


५ सय भन्दा धेरै कम्पनीले पछिल्ला २ आर्थिक वर्षमा वार्षिक सय जना कामदार विदेश पठाउन सकेका छैनन् जसको नवीकरण हुने अवस्था छैन भने यसै विच वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको नवीकरण प्रक्रिया शुरु गरिसकेको  छ ।

व्यवसायीले बितेका १० महिनामा आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र वैदेशिक रोजगार विभागमा लिखित जानकारी गराउंदै समस्या समाधान गर्न माग गरेपनि सुनुवाई नभएकोले आन्दोलनमा जान बाध्य भएको महासचिव श्रेष्ठले बताए । 

कोरोना महामारीका कारण गत फागुन ३० गतेबाट श्रम स्वीकृति संगै अन्तराष्ट्रिय हवाई उडान रोकिएको छ । साथै श्रम गन्तव्य मुलुकमा पनि कोरोनको प्रभावले नेपाली कामदार लिने अवस्था रहेको कारण व्यवसायीले कामदार विदेश पठाउन सकेका छैनन् । गतवर्ष मलेसिया रोजगारी १७ महिना बन्द हुँदा पनि व्यवसायीले कामदार पठाउन पाएका थिएनन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!