विदेशबाट नेपाली ल्याउन सोमबार र मंगलबार चार्टर्ड उडान नहुने

Posted on: 12 Jul, 2020

असार २८, काठमाण्डौ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश ल्याउनको लागि भोलि र पर्सि (सोमबार र मंगलबार) चार्टर्ड उडान नहुने भएको छ । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश ल्याउन भइरहेको नियमित उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । 

लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको सहसचिव  लामिछानेले जानकारी दिए ।  जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता विदेशबाट पुन: चार्टर्ड उडान हुने उनले बताए । 

सरकारले गएको जेठ ३२ गतेदेखि कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउनको लागि चार्टर्ड उडानलाई अनुमति दिएको थियो । सो पश्च्यात  विभिन्न देशमा समस्यामा परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गइ उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायत विभिन्न एअरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुलाई स्वदेश ल्याइएको  हो ।

सरकारले आजैदेखि उडान स्थगित गर्ने भने पनि आज विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । आज बहराइन, जापानको नारिता, फिलिपिन्सको मनिला, साउदीको दमाम, मलेसियाको क्लालाम्पुर, यूएईको दुबईबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले नेपाली लिएर आउँदै छन् ।

अहिलेसम्म संयुक्त अरब एमिरेट्स यूएईबाट ५ हजार ५ सय २७ सय, कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३ जना र बहराइनबाट ५६७ जना नेपाली स्वदेश फर्किएका छन् ।

साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्किएका छन् । शनिबार मात्रै विभिन्न देशबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!