विदेशबाट शनिबार १ हजार १४ नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on: 01 Aug, 2020

साउन १७, काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पनि विभिन्न एयरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ ।  आन्तरिकतर्फ छ वटा चार्टर्ड उडान भएका छन् । सीता एयरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एयरका हेलीकोप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!