कतारद्धारा आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने निर्णय

Posted on: 08 Aug, 2020

साउन २४, दोहा । कतारले कोरनाको कारण भिसा अबधि सकिएको तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरुले आइडी नविकरणबापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको छ ।

कोभिड-१९को कारणले कतारबाहिर फसेका कतारी अकामा (आइडी) बाहक आप्रवासी नागरिकहरुले समयमै नविकरण नगर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको कतारको आन्तरिक मन्त्रालयले बताएको छ ।

कतार सरकारको यो निर्णयसंगै कतारबाट बिदामा नेपाल गएका तथा कोरोनाको कारण कतार फर्किन नसकेका हजारौँ नेपाली श्रमिकलाई राहत पुग्ने भएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये ८० प्रतिशत हाराहारी नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् । तर, कोरोना भाइरसको महामारीपछि कयौँ नेपाली बिदामा गएको बताइन्छ । 

कतारमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको संख्या १ लाख १२ हजार ३८३ पुगेको छ । निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ९ हजार १४२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १८० जना पुगेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङ्क छैन । संक्रमणको दर घट्दै गएको खण्डमा कतारले चौथो चरण अर्थात् सेप्टेम्बरदेखि सबै प्रतिबन्ध हटाउने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!