मलेसियामा सुरक्षा गार्ड कुट्ने नेपालीलाई चार महिना जेल सजाय

Posted on: 13 Aug, 2020

साउन २९, काठमाडौं । मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गर्ने नेपालीलाई स्थानीय अदालतले चार महिना कैद सजाय तोकेको छ । मलेसियाको पत्रिका द स्टारका अनुसार स्थानीय एक अदालतले मंगलवार राम गोपाल मुराउलाई चार महिना जेल सजाय तोकेको हो ।

अदालतले मुराउलाई भएको चार महिना जेल सजाय गत अगस्ट ३ तारिखदेखि नै लागू भएको बताएको छ । गत जुलाई ७ तारिखको दिन मुराउले हुसेनलाई त्यहाँस्थित तमान मेलाती सापिङ कम्ल्पेक्समा कुटपिट गरेको सार्वजनिक भएको थियो । मलेसियन प्रहरीले मुराउविरुद्ध दश वर्षसम्म जेल र जरिवानाको माग गरेको थियो । तर अदालतले चार महिनामात्र कैदको सजाय सुनाएको छ ।   

यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको ४४ सेकेण्ड लामो भिडियोमा एक व्यक्तिले अर्का एक सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गरेको देखिएको थियो । सुरुमा कुटपीट गर्ने व्यक्ति स्थानीय नागरिक र पछि भारतीय मुलका व्यक्ति मन्नु भएको दावी अर्का एक नेपालीले गरेका थिए । उनले आफू पनि सो व्यक्तिबाट पीडित भएको र करार अवधि सकिनु अगावै स्वदेश फर्केका बताएका थिए । तर पछि सो भिडियोका पीडित र पीडक दुवै पछि क्वालालम्पुर स्थित नेपाली दूतावासको सम्पर्कमा आएका थिए र दुवै नेपाली रहेको विवरण दूतावासले सार्वजनिक गरेको थियो । त्यसपछि पीडक स्वयं स्थानीय प्रहरीमा गएको दूतावासले जानकारी दिएको थियो ।

सो घटनामा एक महिलालाई दुर्व्यवहार गरेको अभियोगमा पीडित नेपालीलाई पनि मुद्धा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको समाचार यस अगाडी सार्वजनिक भएको छ । तर सो विषयमा पछिल्लो जानकारी भने प्रहरीले दिएको छैन । पीडितका पक्षबाट स्थानीय वकिल सुमिथा कृष्णा लडिरहेकी छन् ।

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपाली भएको पुष्टि, को हुन् उनी ?

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, दुतावासद्वारा छानविन सुरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!