ओमानबाट चौथो चार्टर उडानमार्फत १ सय ७५ जना नेपालीहरू स्वदेश फर्किए

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौं। ओमानबाट १ सय ७५ जना नेपालीहरू आज नेपाल फर्किएका छन् । सलाम एअरको ओभी ४२७ को  चौथो चार्टर उडानमार्फत १ सय ३७ पुरूष र ३८ महिला गरि १ सय ७५ जना नेपालीहरु स्वदेश फर्किएको ओमानास्थित नेपाली दुतावासले जनाएको छ  ।

ओमानको मस्कटमा रहेको नेपाली राजदूतावासको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित  रुपमा नेपाल लैजाने योजना अनुरुप उनीहरु नेपाल फर्किएका दुतावासले जनाएको छ । उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो ।


विमानस्थलमा पुगेर ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि उनीहरुको फल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी छिन् भने यात्रुहरूले यस अवसर जुटाइदिएकोमा राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् । दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गरेका छन् ।

यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री कृष्णा कुमारी गौली, सहचारी अनिल राणा लगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यसैगरी अर्को चार्टर उडानबारे दूतावासद्वारा चाँडै सूचना जारी गरिने दुतावासले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!