बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका सबैभन्दा बढी, कुन देशबाट कति फर्किए ?

Posted on: 15 Aug, 2020

साउन ३१, काठमाडौँ (रासस) । कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । 

यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।

त्यसैगरी प्रदेश नं १ का १० हजार ८८३, प्रदेश नं ५ का आठ हजार ५९८, प्रदेश नं २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१, सुदूरपश्चिम प्रदेशका एक हजार ३१९ र कर्णाली प्रदेशका एक हजार १७७ जना स्वदेश फर्केका हुन् । 

सो अवधिमा विभिन्न ३० मुलुकबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्स (युएई)बाट हालसम्म सबैभन्दा बढी १४ हजार ३१४ नागरिक स्वदेश फिरेका छन् ।

यस्तै साउदी अरेबियाबाट सात हजार ८१७, मलेशियाबाट सात हजार ६४२, कुवेतबाट छ हजार ३२९, कतारबाट छ हजार १९१, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अष्ट्रेलियाबाट ९४३, ओमानबाट ८११ र माल्दिभ्सबाट ७०९ जना स्वदेश फर्केका सिसिएमसीले जनाएको छ । 

यो तथ्याङ्क कोभिड–१९ महामारीपछि भारतबाहेक तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकाको हो । कोरोना भाइरसका कारण भारतबाट फर्कनेको तथ्याङ्क यकिन छैन ।

सरकारले गत जेठ २३ गतेदेखि चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी स्वदेश फर्कन दिने निर्णय गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!