विदेशबाट फर्केकालाई उद्यमी बनाउन नगरपालिकाले ३ लाखसम्म निर्व्याजी ऋण दिने

Posted on: 06 Sep, 2020

भदौ २१, काठमाडौं । कोभिड-१९ का कारण सिर्जित रोजगारी अभावलाई मध्यनजर गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवालाई उद्यमी बनाउने उद्धेश्यले मेयर उद्यमशीलता विकास कार्यक्रमको तयारी गरेको छ । सो कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाखसम्म ऋण उपलव्ध गराउने नगरपालिकाको योजना छ ।

चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रका अनुसार नगरपालिका भित्रका २१ देखि ५० वर्ष उमेर समूहका र उद्यमी बन्न चाहनेहरु सो कार्यक्रममा संलग्न हुन र उद्यमी बन्न सक्नेछन् । यसमा वैदेशिक रोजगारबाट फर्केकाहरु तथा स्वदेशमा नै रहेका र रोजगारीको खोजिमा रहेकाहरु सहभागी हुन पाउनेछन् । ऋण लगानीका विषयमा सो नगरपालिका र नेपाल बैंकबीच सहमति जुटेको छ ।

सो कार्यक्रममा सहभागि हुनेहरुले सुरुमा आफूले गर्न चाहेको उद्यम, त्यसका लागि लाग्ने लागत, ऋण चुक्ता लगायतको योजना बनाउनु पर्नेछ । कुनै सीप आवश्यक परेमा नगरपालिकाले नै त्यसका लागि व्यवस्था गर्नेछ ।

स्वीकृत भएका अवधारणा पत्रका आधारमा नगरपालिकाको सिफारिसमा नेपाल बैंकले अधिकतम ३ लाखसम्म ऋण सुविधा उपलव्ध गराइदिन्छ । यसका लागि ऋण लिने व्यक्तिले कुनै धरौटी राख्नुपर्दैन । नगरपालिकाले नै जमानी बसेर उपलव्ध गराइदिने ऋणको व्याज समेत ५ बर्षसम्म नगरपालिकाले नै तिरिदिने भएको छ । तर सो समयाविधि भित्रमा ऋणको साँवा भनें ऋण लिने व्यक्तिले नै किस्तावन्दीमा भुक्तानी गर्नुपर्दछ ।

नगरप्रमुख मिश्रका अनुसार यसका लागि नगरपालिकाले नेपाल बैंकमा ३ करोड रकम मुद्धती खातामा जम्मा गरिदिनेछ भनें बैंकले कुल ९ करोडसम्म ऋण प्रवाह गर्ने सहमति भएको छ । कोभिड १९ को संक्रमण फैलिएर जारी निषेधाज्ञाका कारण कार्यक्रम सुरुवातमा केहि ढिलाई भएपनि यहि भदौ महिनाभित्रमा नै यसको सुरुवात हुने नगरप्रमुख मिश्रले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!