कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

Posted on: 09 Sep, 2020

भदौ २४, काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।

सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् ।

प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए ।

‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु भएपछि १० लाख बढी श्रमिक भारतबाट मात्रै स्थल मार्ग हुँदै आएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ ।

भारतबाहेक तेस्रो मुलुकबाट पनि उद्धार गरी यस बीचमा नेपाली श्रमिक र विदेशमा अलपत्र परेका नेपालीलाई ल्याइएको छ,’ उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा विभिन्न नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्यामा केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएको जानकारी दिए ।

यस बीचमा २६ हजार नेपाली भने बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!