वैदेशिक रोजगारीमा जान पिसिआर महंगो, स्टार हस्पिटल एक्लैले अशुल्यो १३ दिनमा ६० लाख बढी

Posted on: 27 Sep, 2020

असोज ११, काठमाडौँ | सरकारले भदौ २८ गते पिसिआर शुल्क घटाएर २ हजार कायम गरेपनि निजी प्रयोगशालाहरुले शुल्क घटाएका छैनन् । बिहिबार र शुक्रबार गरिएको सरकारी अधिकारीहरुको अनुगमनको क्रममा बिभिन्न आठ निजी प्रयोगशालाले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर पिसिआर परीक्षण गराएको खुलेको छ । 

सरकारले भदौ २८ गते पिसिआर अशुल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशालाहरुले बिभिन्न बहाना बनाई ४ हजार भन्दा बढीसम्म शुल्क अशुली गरेको पाइएको छ । 

चर्को शुल्क लिने मध्ये ललितपुरको स्टार हस्पिटल प्रा.लि.मा बैदेशिक रोजगारमा जाने प्रयोजनमा धेरै नेपालीहरुले पिसिआर गराउने गरेका छन् । भदौ २८ गते यता स्टार हस्पिटलले मात्र ६ हजार ७ सय ८० जनाको कोरोना परीक्षण गराएको छ । उसले औशतमा दुई हजारको दरले सरकारले तोकेभन्दा बढी शुल्क लिँदा पनि पछिल्लो १३ दिनमा ६० लाख बढी अशुली गरेको छ । जुन शुल्क सरकारको निर्णयको विपक्षमा रहेर स्टार हस्पिटल एक्लैले उठाएको सबैभन्दा बढी अबैध अशुली हो । वैदेशिक रोजगारीको क्रममा विदामा आएकाहरुले विदेश जान अनिवार्य भएपछि प्राय गरेर स्टार हस्पिटलमा गएर कोरोनाको पिसिआर परीक्षण गराउने गरेका छन् । स्टार हस्पिटल लगायत बिभिन्न ८ निजी प्रयोगशालाले सरकारको कमजोरीको फाइदा लुट्दै तोकिएभन्दा बढी शुल्कमा परीक्षण गराउदै आएका छन् । 

ललितपुरको स्टार अस्पतालले ६ हजार ७ सय ८०, काठमाडौं कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टरले २ हजार ८ सय ६०, लाजिम्पाटको सुरिया हेल्थ केयरले २ हजार १ सय २, धुम्बाराहीको ह्याम्सले २ हजार ६ सय ५९, ललितपुर ग्वार्कोको बीएन्डबी अस्पतालले १ हजार ६८ र नख्खुको नेपाल मेडिसिटीले ६ सय ३ जनाको बढी शुल्कमा पीसीआर गरिसकेका छन् । त्यस्तै डीकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर सिनामंगलले ६ सय ३१ र थापाथलीको इन्टरपिड डायग्नोस्टिक सेन्टरले ९ सय ३३ जनाको बढी शुल्क लिएर पीसीआर गरेको पाइएको छ । 

यसैबीच स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय बैठकमार्फत शुक्रबार बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्मको कारबाही हुने निर्णय गरि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गृह मन्त्रालयलाई जानकारी गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!