कोरोना महामारीमै १५ हजारले लिए श्रम स्वीकृति, कुन देशका लागि कति ?

Posted on: 18 Oct, 2020

मनोज पराजुली । कार्त्तिक २, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको विच पनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने क्रम बढ्दै गएको छ । गत असार, साउन र भदौमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरु न्यून संख्यामा भएपनि असोज महिनामा भने उक्त संख्या दोब्बर भन्दा बढीले बढेको हो ।

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । करिव चार महिनाको अवधिमा (असोज ३० सम्म )१५ हजार ५ सय २५ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । 

वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार असोज महिनामा मात्रै ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा २ हजार ४ सय ९४, साउनमा २ हजार ९ सय ७९ जना र भदौमा १ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए ।

ताहाचल कार्यालयले असोज एक गतेदेखि ३० गतेसम्म ७ हजार ६ सय ७६ पुरुष र ४ सय २१ महिलाहरुलाई श्रम स्वीकृति प्रदान गरेको छ । वैदेशिक रोजगार कार्यालयका अनुसार ४ हजार ५०५ जनाले पुन श्रम स्वीकृति, ४ सय १ जनाले वैधानिकरण गरेर र ५ सय १६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएका छन्  ।

असोज महिनामा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै साउदी अरबका लागि श्रम स्वीकृति लिएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेसिया, कुवेत, जापान जानका लागि श्रम स्वीकृति लिएका छन् । 

असोजमा २ हजार ६ सय ५१ कामदार यूएई जना श्रम स्वीकृति लिएका छन् । त्यसमा महिला कामदारको संख्या २ सय २५ रहेको छ । साउदी अरेवियामा ४ जना महिलासहित २ हजार ८ सय ३१ जना, कतार जान श्रम स्वीकृति लिने संख्या १२ महिलासहित १ हजार ३ सय ५१ जना, युरोपिय मुलुक क्रोएसिया जान ३४ महिलासहति १ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै अफगानिस्तान ७३ जना, बहराइनमा ७ महिलासहित १ सय १३ जना, इजिप्टमा ३० जना, २ महिलासहित जापानमा ६३ जना, ११ महिलासहित कुवेतमा १ सय ३ जना, २ महिलासहित मलेसियामा पनि १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् ।

२३ जना महिलासहित माल्दिभ्समा १ सय ६ जना, ५ जना महिलासहित ओमानमा १ सय ६ जना, पोल्याण्ड र पोर्चुगलमा क्रमशः ३८ र ३६ जना गएका छन् । त्यस्तै ७१ जना महिलासहित टर्कीमा १ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत भदौ ३१ सम्म ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको थियो । 

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए  । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । 

कार्यालयले रोजगारदाता कम्पनीले करार सम्झौता अनुसारको तलव तथा सेवा सुविधा दिने लिखित प्रतिबद्धतापत्र जनाई सम्वन्धित मुलुकको नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल पठाएमा श्रम स्वीकृति दिने गरेको छ । कार्यालयका अनुसार व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएर ३२ देश, वैधानिकरण गरेर ३० देश र पुन: श्रम स्वीकृति लिएर विश्वका विभिन्न ३० देशका लागि श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत, वैधानिकरण गरेर, पुन: श्रम स्वीकृति लिएर विदेश जाने क्रम बढेपनि अझै पनि संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान सहझ अवस्था रहेको छैन । विदेशस्थितत नेपाली दुतावासहरुले अझैपनि मागपत्र प्रमाणीकरण सेवा शुरु गरेका छैनन् । 

असोज महिनामा श्रम स्वीकृति लिनेहरुको देशगत विवरण

 



यस बिषयमा तपाइको प्रतिक्रिया...!