वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएका पुरुषको ५ महिनापछि अन्त्येष्टि

Posted on: 19 Nov, 2020

मंसिर ४, झापा | मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ ।युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उहाँको हृदयाघातबाट मृत्यु भएको थियो । 

लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको  शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए । नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि  गरिएको जनाइएको छ । यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु  र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९  नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए । उनले  २०१९ को  नोभेम्बर १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए । यसैगरी उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद  २०२२  अक्टोबर ५ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए |

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीसँग मिलेर कोठा भाडामा बसेका थिए ।  उनलाई अपराह्न २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीसँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाएका थिएनन् । उनको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!