साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार दमाममा राहादानी संकलन गर्ने

Posted on: 01 Dec, 2020

मङ्सिर १६, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार (०४ डिसेम्बर २०२०) मा दमाममा अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दुतावासले यसअघि उपलब्ध गराएको अनलाइन प्रणालीमा फारम भरि नाम टिपाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय संचालन गर्न लागिएको जनाइको छ ।

दमामको मुगल रेस्टुरेन्ट  दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै अस्थायी कार्यलय राखेर बिहान ८ बजे देखि सेवा दुतावासले जनाएको छ । राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूमा सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति र नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) रहेको छ । 

राहदानी दस्तुर साउदी रियाल २ सय र हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल ४ सय लाग्ने दुतावासले जनाएको छ ।  दुतावासले अनलाइन फाराम भर्ने सेवाग्राहीहरूको सूचीसमेत सार्वजनिक गरेको छ । 

कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएको दुतावासले जनाएको छ । एक घण्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो सिरियल नम्बर बमोजिम आ-आफ्नो समयमा मात्र राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुन दुतावासले अनुरोध गरेको छ । यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउनु हुन समेत दुतावासले अनुरोध गरेको छ ।

साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ । तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6  लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन दुतावासले पुनःअनुरोध गरेको छ ।

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको हो । राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आगामी डिसेम्बर ११ मा जुवेलमा पनि अस्थायी कार्यालय सञ्चालन गरिने दुतावासले जनाएको छ ।

अनलाइन फारम भर्नेहरुको नामावली 



यस बिषयमा तपाइको प्रतिक्रिया...!