अब कतारमा रहेका श्रमिकहरुले नेपाली भाषामै यसरी श्रम कानुन सम्बन्धि जानकारी पाउँने

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौँ । विदेशी श्रमिकलाई कतारले श्रम कानुन सम्बन्धि जानकारी नेपाली भाषामा पनि गराउने भएको छ । कतारको  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायले नेपाली सहित ६ वटा भाषामा ह्वाट्एप मार्फत नै श्रम कानुन सम्बन्धि जानकारी पाउँन सकिने व्यवस्था गरेको हो ।

श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, धेरैजसो सोधिने प्रश्नहरुको उत्तर लगायतका सेवा सहित सुरु गरिएको ह्वाट्सएप मार्फत दिइने जानकारी निःशुल्क रहेको र सो मार्फत विश्वासिलो, आधिकारिक सुचना प्राप्त गर्न सकिने जनाइएको छ । 

उक्त व्यवस्था २४ घण्टे सूचना सेवा स्वचालित च्याट प्रणालीबाट लागु हुनेछ भने नेपाली, अरवी, अंग्रजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा उपलब्ध हुने छ । सो सेवा लिनका लागि ह्वाट्सएपमा +९७४ ६००६ ०६०१ नम्वर मार्फत लिन सकिने जनाएको छ । 

उक्त नम्वरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्वर टाइप गरेर पठाउनु पर्दछ । नेपाली भाषामा सुचना, जानकारी चाहिएमा ५ नम्वर लेखेर पठाउन सकिन्छ । त्यसपछि आफ्नो अधिकारका बारेमा थाहा पाउनुहोस्, कतार भिसा केन्द्र मार्फत आवेदन दिनुहोस्, उजुरीहरु, आवेदन स्थिति, मुख्य प्रश्न र उत्तर, फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु तथा भाषा परिवर्तन गर्नको लागि भन्ने सूचि म्यासेजमा आउँछ ।

उदाहरणका लागि फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु ६ नम्वरमा रहेको छ । म्यासेज बक्समा ६ नम्वर लेखेर पठाएमा प्रशासनिक विकास मन्त्रालय, श्रम तथा सामाजिक मामिला हटलाइन, प्रहरी, आगो र एम्वुलेन्स, जनस्वास्थ्य मन्त्रालय लगायतको जानकारी सहितको म्यासेज प्राप्त हुन्छ । यसैगरी अन्य सेवाहरु लिन सकिने स्पष्ट पारिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!