ओमानले थप्यो प्रतिबन्ध अवधि

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौँ । कोरोनाभाइरसको महामारी कायमै रहेकाले ओमान सरकारले प्रतिबन्ध अवधि थपेको छ । ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले यसअघि लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । 

सो कमिटीले बिहिबार देखि लागु हुने गरी २० मार्चसम्म सम्पूर्ण व्यवसायिक गतिबिधिहरू बेलुकी ८:०० बजेबाट बिहान ५:०० बजेसम्म बन्द गरिने निर्णय गरेको छ । यसअघिको निर्णय अनुसार सार्वजनिक स्थलहरू, पार्कहरू तथा सामुन्द्रिक तटहरूमा भ्रमण गर्न लगाइएको प्रतिबन्ध तथा स्थलमार्गमार्फत प्रवेश गर्न लगाइएको बन्देजलाई पनि अर्को सूचना नआउन्जेल सम्म निरन्तरता दिइएको छ । 

विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम पनि यथावत राखिएको ओमान स्थित नेपाली दूतावासले जनाएको छ । 

ओमानमा रहेका नेपालीहरुलाई सरकारले जारी गरेका निर्णयलाई पालना गर्न र कोभिड-१९ को जोखिमबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउँन दूतावासले अनुरोध गरेको छ । 

ओमानबाट नेपाल आउने यात्रुहरुले बारकोड लगायत पिसिआर रिपोर्ट मस्कट अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य पेस गर्नु पर्नेभएकाले  यात्रा गर्नु अघि कोभिड-19 संकट व्यवस्थापन केन्द्र (CCMC) को वेभसाईटमा https://ccmc.gov.np/arms/person_add_en.php उपलब्ध अनलाईन आगमन फाराम अनिवार्य रूपमा भर्नुपर्ने छ । उक्त फारम बुझाउँदा अनलाईनबाटै प्राप्त हुने बारकोड मोबाइलमा स्क्रिनसट लिएर वा प्रिन्ट गरेर एक प्रति साथमा राख्न दूतावासले भनेको छ । 

ओमानमा रहेका नेपालीहरुले थप जानकारीका लागि 24696177/24696883 वा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!