नेपाल म्यानपावरमा विभागको छापा, १३ वटा पासपोर्ट सहित तीनवटा कम्प्युटर नियन्त्रणमा

Posted on: 03 Mar, 2021

मनोज पराजुली । फागुन १९, काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित नेपाल म्यानपावर प्रा .लि (लाइसेन्स नम्बर १०९९/०७३/७४) को कार्यालयमा छापा मारेको छ । म्यानपावर कार्यालमा अवैध तरिकाले अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको आकस्मिक अनुगमन टोलीले छापा मारेको हो ।


विभागको टोली म्यानपावर कार्यालयमा पुग्दा युएई जानको लागि भन्दै केहि युवाहरु म्यानपावर कार्यालयमा भेटिएका थिए । तर म्यानपावर कार्यालयमा कुनै पनि डिमाण्ड नभएको भएपनि  अन्तर्वार्ताका लागि युवालाई बोलाइको विभाग टोलीले अनुगमनका क्रममा  भेटेको छ ।

माथिको तस्वीर : म्यानपावर कार्यालयमा पुगेका पीडित युवा  

प्रतिव्यक्ति २ लाखका दरले युएई जानको लागि विष्णु नेपाली (अवैध एजेन्ट) लाई बुझाएको पीडित गोबिन्द घर्तीले साझा सवाललाई बताए । एजेन्टले रकम लिएपछि नेपाल म्यानपावर बाटै नै युएई लैजाने बताएको उनले बताए । नक्कली भिसा नै निकालेर आज भोलि भन्दै झुलाएपछि ठगिएको भन्ने लागेर विभागमा उजुरी दिएर म्यानपावर कार्यालयमा आएको उनले बताए ।

माथिको तस्वीर : पीडित युवाको नक्कली भिसा 

विभागले छापा मारेर म्यानपावर कार्यालयबाट १३ वटा पासपोर्ट, तीनवटा कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिईएको अनुगमन अधिकृत चेतन कुमार खत्रीले साझा सबाललाई जानकारी दिए । प्राप्त डकुमेन्टका आधारमा विभागले अनुसन्धान गरेर म्यानपावरलाई आवश्यक कारवाही गरिने उनले बताए । पीडितहरुका उजुरीका आधारमा विभागले पछिल्लो समय म्यानपावर कार्यालयहरुको आकस्मिक अनुगमनलाई तीब्र पारेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!