वैदेशिक रोजगारीको लागि फागुनमा ९ हजार १ सय ४६ नेपाली विदेशिए,कुन् देश कति ?

Posted on: 17 Mar, 2021

चैत ४, काठमाडौँ । कोरोना भाइरसको संक्रमण कायमै रहेपनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या भने कायमै रहेको छ । कोरोना भाइरसका कारण थला परेको अर्थतन्त्र र गुमेको रोजगारीका कारण विदेशिने नेपाली युवाहरुको संख्या कायमै रहेको छ ।

विशेषगरी खाडी मुलुकहरु नेपाली श्रमिकका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएका छन् । पछिल्लो समय कोरोना भाइरसबिरुद्धको खोप प्रयोगमा आएसंगै खाडी मुलुकहरुबाट पनि रोजगारदाता कम्पनीहरुले श्रमिकको माग गरिरेहका छन् ।

फागुन महिनामा ९ हजार १ सय ४६ जना नेपालीहरुले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सो महिनामा ८ हजार ३ सय १६ जना पुरुष र ८ सय ३० जना महिलाले रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

माघ महिनाको तुलनमा फागुन महिनमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको विभागको तथ्यांक छ । माघ महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जनाले श्रम स्वीकृति लिएका थिए । यसरी श्रमिकहरु विदेशिनेमा खाडीका मुलुकहरु रहेका छन् । 

फागुनमा सबैभन्दा बढी कतारको लागि श्रमिकले स्वीकृति लिएका छन् । यस्तै संयुक्त अर्ब इमिरेट्स,साउदी अर्ब,ओमान,रोमानिया लगायतका देशहरु रोजगारीको लागि जाने श्रमिकको संख्या बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

सो महिना कतारको लागि ४ हजार ७४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि संयुक्त अर्ब इमिरेट्समा १३ सय १० पुरुष र १ सय ७४ महिला गरी १ हजार ४ सय ८५ जना विदेशिएका छन् । तेस्रोमा नेपाली श्रमिकका लागि साउदी अर्ब रोजगारीको आकर्षक गन्तव्य बनेको छ । सो महिना १४ सय २४ जनाले साउदीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

बहराइन ४ सय ४५,ओमान २ सय ८६, जोडन १ सय ९५, साइप्रस १ सय १७ र अफगानिस्तानको लागि १ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । विशेष गरी नेपालीहरुको रोजाइमा खाडी मुलुक परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!