नेपालबाट कतार जाने यात्रीहरूका लागि दुतावासको जरुरी सूचना

Posted on: 29 Apr, 2021

वैशाख १६, काठमाडौँ । नेपालबाट कतार जाने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि अनिवार्य क्वारेन्टाइन लागू हुने भएको छ । कतारस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै कोरोना महामारीको बेला कतार सरकारले लागू गरेको मापदण्ड पालना गर्न नेपालीहरुमा अनुरोध गरेको छ ।

भारतमा हालै देखा परेको "COVID-19" भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी कतारमा बसोबास गरिरहेका कतारी तथा सबै जनाको स्वास्थ्यलाई सुरक्षित राख्न कतार सरकारको जन स्वास्थ्य मन्त्रालयले २६ अप्रिल २०२१ मा एउटा विज्ञप्ती जारी गरी भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार आउने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि लागू हुने गरी अनिवार्य क्वारेन्टाइन सम्बन्धी निर्देशनहरु जारी गरेको छ । जस अनुसार  ती देशहरूबाट आउने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन मेकाइनिस  क्वारेन्टाइनमा बस्नु पर्नेछ । यो प्रावधान कतारमा कोरोना खोप लगाइसकेको व्यक्तिको हकमा समेत लागू हुने जनाइएको छ । साथै ती मुलुकबाट कतार प्रवेश गर्ने सबै यात्रुहरूले अनिवार्य रुपमा तोकिएको स्वास्थ्य केन्द्रबाट कोभिड-१९ पिसिआर परीक्षण गरी ४८ घण्टा अघिको नेगेटिभ रिपोर्ट साथमा लिएर यात्रा गर्नु पर्नेछ ।

कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने सबै यात्रुहरूले पनि कोभिड पिसिआर परीक्षण  अनिवार्य गरेको हुनुपर्दछ । आफ्नो गन्तव्य मुलुकको लागि अर्को कोभिड-१९ पिसिआर परीक्षणको आवश्यक परेमा ती यात्रीहरुको लागि कतारी रियाल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ पिसिआर परीक्षण गर्न सकिने व्यवस्था रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!