नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी अध्यागमन विभागले जारी गर्यो सूचना

Posted on: 29 Apr, 2021

वैशाख १६, काठमाडौँ । अध्यागमन विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी एक सूचना जारी गरेको छ । विश्वभर फैलिंदै गईरहेको नयाँ भेरियण्टको कोभिड १९ को बढ्दो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विदेशबाट नेपालमा आवागमन नियमनका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) वैशाख १३ को निर्णय कार्यान्वयन गर्न र अध्यागमन विभागबाट वैशाख १३ गते प्रकाशित सूचना सम्बन्धमा स्पष्ट गर्नका सूचना जारी गरिएको विभागले जनाएको छ ।

विभागले अनुसार निषेधाज्ञाको समयमा नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न सक्ने छैनन् । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् । 

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञाका अतिरिक्त निजले यात्रा गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्नेछन् ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा शुरु गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्नेछन् ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा शुरु गर्नु अधि स्वाब संकलन भएको बहत्तर घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट पेश गरेमा नेपाल प्रवेश गर्न सक्नेछन् र प्रवेश गरेपछि १० (दश) दिन अनिवार्य रुपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यस अधि नेपाल प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!