विदेश जान लिनुपर्ने प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नु नपर्ने

Posted on: 27 Aug, 2021

भदौ ११, काठमाडौँ (रासस)। कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नुनपर्ने व्यवस्था गरेको छ । यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको आज यहाँ पत्रकार सम्मेलन गरेर बताएको हो । 

सेवाग्राहीलाई सहज एवं सरलरूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका महानिर्देशक धनबहादुर ओलीले बताउनुभयो । अनलाइनमार्फत att.nepalconsular.gov.np  वा विभागको वेबसाइट www.nepalconsular.gov.np मा गएर अनलाइन आवेदन गर्न सकिने बताउँदै उहाँले भरिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा सन्देश प्रवाह हुने र प्राप्त सन्देशका आधारमा सेवाग्राहीले राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सक्ने प्रबन्ध गरिएको जानकारी दिनुभयो । 

कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिकरूपमा पनि राजश्व दाखिला गर्न सकिने महानिर्देशक ओलीले बताउनुभयो । 

“काठमाडौँबाहेक देशका कुनै पनि स्थानमा कन्सुलर सेवा विभागबाट प्रवाह हुने सेवाको व्यवस्था हालसम्म नभएकाले ताप्लेजुङदेखि दार्चुलासम्मका सेवाग्राहीलाई पहिलो चरणमा ‘पुलिस क्लियरेन्स सर्टिफिकेट’ प्रमाणीकरणको व्यवस्था अनलाइनबाट गरिएको छ । विभागका अन्य सेवालाई पनि क्रमशः विद्युतीय प्रणाालीमा लैजाने परराष्ट्र मन्त्रालयको नीति छ”, उहाँले भन्नुभयो । प्रक्रिया पूरा गरिएका आवेदकले एक कार्यदिन समाप्त भएपछि अर्को दिन प्रमाणित कागतपत्र पाउने छन् । अनलाइन प्रणालीले फर्जी कागतपत्र बन्ने जोखिम पनि पूर्णरूप हट्नेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!