इजरायल रोजगारी: अंग्रेजी भाषा परीक्षाका लागि ११ वटा केन्द्र तोकियो, यी हुन् परीक्षा केन्द्र

Posted on: 08 Sep, 2021

भदौ २३, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा पठाउन छनौटका लागि लिइने अङ्ग्रजीको भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो ।

विभागले कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार विद्यालय साधारण, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धारको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजमा परीक्षा केन्द्र तोकेको छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । उक्त रोजगारीको लागि इजरायल सरकारले अङ्ग्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अङ्ग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अङ्क छुट्टाइएको छ ।

इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर १ हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!