श्रीमान् विदेशमा: अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठीयो, श्रीमती जेल चलान

Posted on: 16 Sep, 2021

सीपी लोहिया/न्युज कारखाना | भदौ ३१, बैतडी | नवजात शिशुको घाँटी निमोठेर ह-त्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको ह-त्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले न्युज कारखानालाई जानकारी दिए । 

माधवीले यही ६ भदौमा अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै घाँटी निमोठेर ह-त्या गरेकी थिइन् । त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो । 

महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो । १० वर्षअघि वैदेशिक रोजगारीमा गएका माधवीका श्रीमान् उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । 

घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमति गरेका भएपनि ती किशोर हाल फरार रहेका छन् । माधवीको १३ वर्षीय एक छोरा पनि छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!