वैदेशिक रोजगार - शेयर बजारको डरलाग्दो घाटा, कामदारले पनि शेयर बजारमा करोडौं गुमाए

Posted on: 01 Oct, 2021

असोज १५, काठमाडौं  ।  नेपाली शेयर बजार अहिले घट्दो क्रममा रहेको बेला यतिखेर सबैलाई कारोबारमा निकै घाटा भएको छ । शेयर बजार घट्ने क्रम जारी रहँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले पनि ठूलो परिमाणमा लगानी गुमाएको देखिएको छ । कोरोना संक्रमणपछि बढेको नेपाली शेयर बजारमा लगानी गरेका कामदारहरू दुई हप्तायता डरलाग्दो गरी शेयर मूल्य घटेपछि चाडवाडको मुखमा पसिनाको कमाइ गुमाउन बाध्य भएका छन् ।

 नेपाली शेयर बजार प्रविधिमैत्री भएपछि विश्वभर छरिएका नेपालीले करोडौं लगानी गरेका छन् । नेपाली शेयर बजारमा वैदेशिक रोजगारीमा जापान र दक्षिण कोरिया गएका कामदारको ठूलो हिस्सा प्रवेश गरेकोे छ । रोजगारीका लागि खाडी र मलेसिया जाने कामदारको तुलनामा आकर्षक कमाइ गर्ने उल्लेखित दुई मुलुक गएका अधिकांश नेपालीले जलविद्युत, विकास बैंक र फाइनान्स कम्पनीका शेयरमा लगानी गरेको र ती क्षेत्रका शेयर मूल्य घट्दा लगानी गुमाउन पुगेको बताइएको छ ।

लगानी गरेका अधिकांशले हालसम्मको बजार घट्ने क्रममा एक बर्षको तलब बराबरको रकमको नोक्सानी व्यहोर्नुपरेको हाल दक्षिण कोरीयामा काम गर्दै आएका बागलुङ बलेवाका एक कामदारले बताए । कतिपयले साथीहरूसँग ऋण सापटी गरेर लगानी गरेका कारण शेयर बजारमा सुधार नआएको अवस्थामा त्यसले नकारात्मक रूप लिन सक्ने पनि उनको भनाइ छ ।

कोरोना संक्रमणपछिको लकडाउनसँगै उकालो लागेको नेपाली शेयर बजारको सूचकांक ३२ सय भन्दा केही माथि पुगेर निरन्तर ओरालो लागिरहेको छ । यस सप्ताहको अन्तिम कारोवार दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अंक बढीले घटेको  छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अंकले घटेर दुई हजार ६३३.४२ अंकमा झरेको छ । दैनिक २० अर्ब बराबरको कारोवार हुने शेयर बजारमा बिहीबार तीन अर्ब ७० करोड २९ हजार ५ सय ७ रूपैयाँको मात्र कारोवार भयो । यो रकम दुई वर्षयताको सबैभन्दा न्यून भएको बताइएको छ । दशैं अगाडि बजार नबढ्ने धेरैको एकमत छ । 

तर बजारजति तिव्रताका साथ घट्यो त्यति नै तिव्रताका साथ बढ्ने भन्दै शेयर बजार विज्ञ डा.केशव श्रेष्ठ बजार घटेपनि आफूसँग भएका स्टकहरु सुरक्षित राख्न सके बजारले रिटर्न दिने बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!