मलेसियाका नेपालीको समस्याबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको एनआरएनएद्वारा ध्यानाकर्षण

Posted on: 07 Oct, 2021

असोज २१ , काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काको ध्यानाकर्षण गराएको छ ।

एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बुधबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री  खड्कालाई भेट गरी मलेसियामा कार्यरत नेपाली कामदार अलपत्र परी घर फर्किने क्रममा सेल्टर हाउस नहुँदा समस्या रहेकोे भन्दै सरकार र एनआरएनए मलेसियाको समन्वयमा क्वालालम्पुरमा सेल्टर हाउस स्थापना गर्न ध्यानाकर्षण गराएको बताए ।

अध्यक्ष थापाले तत्काललाई सेल्टर हाउसको स्थापना सरकार र कुटनैतिक निकायको सहकार्यमा एनआरएनए मलेसियाले नै गर्ने तर भविष्यमा एनआरएनएले सञ्चालन गर्न नसकेको खण्डमा नेपाल सरकारले स्वामित्वमा लिएर संचालन गर्नुपर्ने विषयमा छलफल भएको बताए । 

त्यसैगरी अध्यक्ष थापाले अनलाइनबाट पुनः श्रम स्विकृति लिने प्रक्रियालाई सहज बनाउन परराष्ट्रमन्त्री डा. खड्काको ध्यानाकर्षण गराइएको बताए । जवाफमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्काले मलेसियामा समस्यामा पर्ने नेपाली कामदारको निम्ति सेल्टर हाउस स्थापना गर्न नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!