विदेशमा रहेका नेपालीले कहिलेदेखि पाउँछन् इ-पासपोर्ट ?

Posted on: 23 Nov, 2021

मङ्सिर ७, काठमाण्डौ | विदेशमा रहेका नेपालीहरुले माघदेखि ई-पासपोर्टको आवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परिचय प्राप्त गरेकाहरुले मात्र नयाँ बिध्युतिय राहदानी पाउने बताइए पनि विदेशमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र नभएपनि ई-पासपोर्टको लागि सम्बन्धित देशको नेपाली नियोगबाट आवेदन दिन पाउनेछन् । 

ई-पासपोर्ट बनाउन चाहनेले राहदानी विभागको वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला भईसकेको छ । फारम जति छिटो भर्यो त्यसै अनुसार छिटो पालो आउनेछ । तत्काल पासपोर्ट आवश्यक हुनेहरुले एमआरपी पनि लिन पाउछन् ।


मङ्सिर १ गतेदेखि काठमाडौँको राहदानी बिभागबाट ई-पासपोर्ट परीक्षणको क्रममा छ । हाल राहदानी बिभागबाट मात्र ई-पासपोर्टको लागि निवेदन दिन सकिन्छ । मङ्सिर १५ पछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट ई-पासपोर्टको आवेदन दिन सकिन्छ ।

ईपासपोर्ट बनाउनको लागि नेपालमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने बताइएको छ । तर १६ बर्ष मुनिका उमेर भएकाहरुलाई र विदेशबाट निवेदन दिनेहरुलाई राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन । ई-पासपोर्ट निर्माणको लागि आवश्यक भनिएको राष्ट्रिय परिचयपत्र बनाउनको लागि तत्काल समय लागेपनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिने र सोहि नम्बरको आधारमा राहदानी बनाउन सकिने राहदानी विभागले जनाएको छ ।

विदेशमा रहेकाहरुले आफू सँग रहेको एमआरपी पासपोर्टको म्याद सकिएमा मात्र ई-पासपोर्टको आवेदन दिन सक्छन् अन्यथा एमआरपीले पनि काम गर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!