मलेसियाको रबर कम्पनीले कामदारलाई शोषण गरेको सार्वजनिक

Posted on: 27 Nov, 2021

मंसिर ११, काठमाडौं | मलेसियाको रबर कम्पनीले कामदारलाई शोषण गरेको सार्वजनिक भएको छ । मलेसियामा स्थापित बहुराष्ट्रिय गुड इयर टायर एण्ड रबर कम्पनीले नेपालीसहित अन्य आप्रवासी कामदारको शोषण गरेको समाचार सार्वजनिक भएको छ । बेलायती समाचार संस्था रोयटर्सले लामो अनुसन्धानमुलुक समाचार सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि भएको शोषणले उक्त कम्पनीका उत्पादनमाथि अन्तर्राष्ट्रिय प्रतिवन्ध लाग्नसक्ने उल्लेख गरेकोे छ । 

रोयटर्सले आप्रवासी कामदारको कार्यस्थल, आवास मापदण्डअनुसार नभएको र लामो समयदेखि कामदारको तलब रोकिएको अनुसन्धानका क्रममा फेला परेको दाबी गरेकोे छ । यस विषयमा मलेसिया र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एकैसाथ अनुसन्धान गरिरहेको भन्दै उक्त कम्पनी कामदार माथि भएको शोषणका वारेमा नयाँ तथ्यहरू आउने समाचारमा उल्लेख छ ।

गुड इयर टायर एण्ड रबर कम्पनीमा कार्यरत पाँच र अवकाशप्राप्त केही कामदारसँग अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले उनीहरूको आवास, उनीहरूले न्यायका लागि कम्पनीविरूद्ध अदालतमा लडिरहेको मुद्दा, कम्पनीमा दिइने धम्कीका विषयमा सोधपुछ गरिएको भन्दै समाचारमा अनुसन्धान अधिकारीहरूले केही नबताएको तर अमेरिकाको ओहायोमा रहेको गुड इयरले भने कामदारमाथि शोषणा नभएको उल्लेख छ । 

समाचारमा उक्त कम्पनीविरूद्ध आप्रवासी कामदार पटकपटक अदालत जाने गरेको भएपनि समस्याको समाधान नहुने गरेको भन्दै सन् २०१९ देखि यतामात्र नेपाल, भारत र म्यानमारका १ सय ८५ कामदारले आफुहरूको तलब सुविधा माग गर्दै मलेसियाको औद्योगिक अदालतमा दिएको उजुरी उल्लेख गरेकोे छ ।

सन् २०२० मा अदालतले कामदारको तलब सुविधा भुक्तानी गर्न आदेश दिएको भएपनि कम्पनी औद्योगिक अदालतको फैसला विरूद्ध पुनरावेदनमा गएको कारणले आप्रवासी कामदारहरूले पाउनुपर्ने तलब सुविधा पाएका थिएनन् ।

कम्पनीले आप्रवासी कामदारले मलेसियाको ट्रेड युनियन अधिकारको उपयोग गर्दै सामूहिक सौदावाजी गर्ननसक्ने भन्दै कम्पनीले विवाद समाधानका लागि पहल भइरहेको बताएको समाचारमा उल्लेख छ । मलेसियाको पेरमोडालन नेशनल बेरहाडले गुड इयर कम्पनीको ४९ प्रतिशत स्वामित्व राखेको भएपनि समस्या समाधानका लागि चासो राखेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!