१२ नेपाली महिलालाई केन्यामा बेच्ने जेठालाई ३० वर्ष जेल सजाय

Posted on: 28 Nov, 2021

मंसिर १२, काठमाडौं, एजेन्सी | क्यानडाका व्यापारी आसिफ अमिराली अलीभाई जेठालाई मोम्बासा अदालत(केन्याको उच्च अदालत)ले १२ नेपाली महिलाहरुलाई बेचविखन गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ। 

अदालतले जेठालाई १२ नेपाली महिलाको बेचविखन गरेको, मानव बेचविखनलाई बढावा दिएको र यात्रा कागजातमा हस्तक्षेप गरेको तीनवटा मुद्दामा दोषी ठहर गरेको हो।  

जेठालाई आपराधिक गतिविधिबाट आम्दानी गरेको, श्रम स्वीकृति नलिई व्यापारमा संलग्न भएको र अवैध रूपमा विदेशीलाई काममा लगाएको अभियोगमा केन्या सिलिङ एक लाखदेखि दश लाखसम्म जरिवाना गरिएने छ।

जेठाले नेपाली युवतीहरूलाई धोका दिएर शोषण गर्ने नियतले बन्दी जस्तै बनाइ राखेको पनि अदालतले ठहर गरेको छ।

सन् २०१९ मा मोम्बासाको न्यालीस्थित अमके प्लाजामा रहेको जेठाको रंगीला ग्रिल एण्ड बारमा ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम युनिटका गुप्तचरहरूले छापा मारेर १२ जना नेपाली महिलाहरुलाई उद्धार गरेका थिए।

उनीहरूलाई केन्यामा नर्तकीको रूपमा काम गर्न र उच्च स्तरको मनोरञ्जन गर्नेहरूका लागि तस्करी गरिएको थियो।

तीमध्ये दुई बालिका १६ र १७ वर्षका थिए। आठ जना २२ देखी २६ वर्षका र दुई जना ३० वर्षभन्दा माथि उमेर समूहका महिलालाई केन्या लगिएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!