रासायनिक मल मात्रै बेच्छन् सहकारी पसल

Posted on: 09 Aug, 2016

साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघि २२ वटा सहकारीलाई प्रति सहकारी रु एक लाखका दरले अनुदान उपलब्ध गराएको थियो । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले अधिकांश सहकारी पसलको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो । 

“अनुगमन गर्दा सुपथ मूल्यका पसलमा रासायनिक मल मात्र बेच्ने गरेका पायौँ,” उहाँले भन्नुभयो– “केही पसल निष्क्रिय अवस्थामा छन् ।” सञ्चालनमा रहेका पसलले वार्षिक रु ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । 

सहकारीमा आबद्ध सदस्यहरुलाई सुपथ मूल्यमा सामान उपलव्ध गराउन खोलिएका ती सहकारीले बेच्ने रासायनिक मल बजार मूल्यभन्दा महँगो पाइएको छ । सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न आव २०६५÷६६ मा भीमदत्तनगरपालिका क्षेत्रमा तीनवटा, अन्य नगरपालिका र गाविसमा १९ वटालाई अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ । 


ताल भाडामा लिएर माछापालन 

देखतभूली गाविसमा गडबिजुला ताल भाडामा लिएर दुईजना युवा व्यवसायीले माछापालन व्यवसाय थाल्नुभएको छ । 

कृष्णपुर नगरपालिका– २ का सुरेन्द्रबहादुर बम र ध्रुव भट्टराईले संयुक्त रुपमा ताल भाडामा लिई माछापालन गरेका हुन् । जिविसबाट पाँच वर्षका लागि रु २७ लाख भाडा तिर्ने गरी ताल ठेक्कामा लिई मछापालन थालिएको हो । 

भारतको बङ्गालबाट रु २७ लाखमा विभिन्न प्रजातीका माछाका भुरा ल्याई तालमा राखेको व्यवसायी बमले बताउनुभयो । वार्षिक रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!