१५ सय जनामा ३ जना महिलाको पाठेघरको मुखमा क्यान्सर

Posted on: 28 Aug, 2016

नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा समयमै उपचार गरी संभावित रोगबाट मुक्त हुने उदेश्यले जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा श्रावण २० गते देखि सञ्चालन भएको निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाचँका अवसरमा आजसम्म १५ सय जना महिलाले निशुल्क चेकजाचँ गराएका छन् ।

जसमा आजसम्म चेकजाचँ गराएका १५ सय महिला मध्ये ३ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको उपचारमा संलग्न डाक्टर निरेश थापाले जानकारी दिनु भयो । पाठेघरको क्यान्सर भएका ३ जना महिला मध्ये दुई जना महिलालाई उपचार गर्न सकिने र एक जनालाई उपचार गर्न नसकिने डाक्टर थापाले बताउनु भयो । चेकजाचँ गरिएका १५ सय महिला मध्ये २ सय जना महिलाको पाठेघरको संक्रमण मासुलाई चेकजाचँका लागी काडमाण्डौ प्याथोलोजिष्ट अस्पतालमा पठाइएको छ ।       

हाल दिन प्रतिदिन चेकजाँच गराउने महिलाको संख्यामा बृद्धि भैरहेको छ । प्रति दिन ६० देखि १ सय जनासम्म महिलाहरु चेकजाँचका लागि आउने गरेको जनाइएको छ । स्क्रिनिङ क्लिनिक सञ्चालन गरी भाद्र १२ गते सम्म पाठेघरको मुखको चेकजाचँ हुने भनियता पनि चेकजाचँका लागी आउने महिलाको सङ्ख्या बढ्न थालेकाले ३ दिन पुन थप गरीएको छ । जसअन्र्तगत भाद्र १५ गते सम्म क्लिनिक सञ्चालन गरि निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाच गराइने प्रतिष्ठानका डा. निरेश थापाले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!