लोक आइडलका लागि रु ३० लाख पुरस्कार घोषणा

Posted on: 07 May, 2018

 वैशाख २४ काठमाडौँ | मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ । 

सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने आइडलका संयोजक जीवन पन्तले जानकारी दिनुभयो । 

लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०÷१० जनालाई छनोट गरिनेछ भने पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालीम उपलब्ध गराइनेछ । 

आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत–संगीतको संरक्षणका लागि आफूलाई समर्पित बनाउने विश्वास गरिएको छ । 

लोक आइडलले देश–विदेशमा हुने कार्यक्रममा नेपाली लोक संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य तथा गायक शिव हमालले विश्वास व्यक्त गर्नुभयो । 

नेपाली लोक संस्कृति संरक्षण तथा लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलको महत्व रहेको आयोजकले जनाएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!